Monday, December 15, 2008

तन्नेरीबाट एउटा नशालू गजल:

प्रकट पंगेनी 'शिव'-

तप्प-तप्प जलबिन्दु चुहाएर के निस्कियौ
स्नीग्ध कञ्चन कोमल अहा ! नुहाएर के निस्कियौ

भाग्यमानी रै'छ साबुन फिँजैफिँज भै बरालियो
जुन साबुनलाई अङ्ग-अङ्ग छुहाएर के निस्कियौ

पानी पनि आगो बन्छ कामदेवको आशिष पाउँदा
जुन पानीमा यस्तो रूप डुबाएर के निस्कियौ

घामको कुरा नगरौँ भो टाँसियो घाम त्यै लुगामा
जुन लुगालाई भर्खर तिम्ले सुकाएर के निस्कियौ

त्यै गाँठोमा गाँठो पार प्रकटलाई ओ ! रूपसी
जुन गाँठोमा कोमल अङ्ग लुकाएर के निस्कियौ

Friday, February 15, 2008

एउटा कथा ‌‌‌

शुषमा मानन्धर

धेरै भएको छैन उसले आफ्नो घर नजिकै त्यो नयां अनुहार देख्न थालेकी। पहिले अफिस आउंदा जांदा उसलाई यादै हुन्नथ्यो तर अस्ति अफिसबाट फर्केर घर पुग्न लाग्दा सडक छेऊ उभिएका केही ठिटाहरुमा उसका आंखा गएका थिए। उनीहरु कागजको कुनै टुक्रामा खोसाखोस गर्दै थिए। “भो भो तिमीहरु नै राख मलाई चाहिएन।” त्यो कुनै केटाको अलि ठूलो स्व्ार थियो। आवाजले आकषिर्त भएर उसले पहिलो चोटि त्यो केटालाई हेरेकी थिई। आंखा जुधे पछि केटो केही लजायो। ऊ घर पुगी। श्रीमानले खबर गरे आज पनि ढिलो आउने रे। रातोदिनको मिटिड.,अझ त्यति मात्र कहां हो - चांडै घर पुगेका दिन पनि साथीहरुसंग उनको बाहिर प्रोग्राम बनिहाल्थ्यो। ऊ बोर हुंदै उंघीउंघी श्रीमानलाई कुरिबस्थी। त्यही भएर कोठामा एक्लै बस्न मन नलागी ऊ लुगा फेरीवरी बजार निस्कंदा सम्म पनि तिनीहरु त्यहीं थिए, गफ गर्दै। के साह्रो गफ गर्न सकेका यिनीहरु उभी उभी उसले सोचेकी थिई। हिजो पनि ऊ बाहिर निस्कंदा त्यो केटा सडक छेउ उभिरहेको थियो, ऊ आउने वाटोतिर हर्ेर्दै। उसले पछाडि ब्याग बोकेको थियो र घांटीमा रातो गलबन्दी बांधेकोे थियो। गोरो अनुहारमा त्यो रातो गलबन्दी खूब सुहाएको थियो उसलाई। सडकको अर्को छेउ उभिएको उसको साथी उसलाई नाम लिई बोलाउंदै थियो। अपूर्व ! नाम त राम्रै हो। नाम अनुरुप देखिन्थ्यो पनि ऊ। गोरो र टल्किने कालो कपालसंग भर्खर बस्दै गरेका जुंगाका रेखीले उसलाई निकै सुदर्शन देखाऊंथ्यो। आंखा जुध्यो। उसले देखी त्यहां केही चम्केको थियो अभूतपूर्व। केही झिल्काहरु बलेका थिए। त्यो झिल्का, भित्र उसको मुटुसम्मै पुग्यो। अपूर्वले उसलाई आंखा भरी हेर्यो अनि साथीसंग बाटो लाग्यो।अफिस पुग्दासम्म पनि उसका आंखामा अपूर्वको हेराइ अडिरह्यो। त्यो हेर्राई विशेष थियो र त्यहां एउटा अनौठो किसिमको चाहना देखिन्थ्यो तर के को उसले अडकल्न सकिन। कहांको केटा हो, त्यतातिर के गर्न आउंदो हो - उसको दिमागमा सानो कौतुहलता जन्मियो। अपूर्व त्यतातिरको बासिन्दा थिएन, त्यसैले त्यो भन्दा अघि उसलाई त्यहां देखिने कुरै भएन। ऊ या त यो इलाकातिर बस्न थालेको छ नभए कलेजका आफ्नो कुनै साथीलाई भेट्न यतातिर आउंदो हो ,उसले मनमनै ठहर गरी। नभन्दै उसले त्यही दिन सांझपख अपूर्वलाई पहिलो पटक आफ्नो घर अगाडि छिमेकीको कौसीमा देखी। ऊ या त कौसीमा ऊ नभएकी बेला अघि पछि आंउदो हो या ऊ त्यहां डेरा बस्न थालेको धेरै भएको थिएन।ऊ पानी तर्काउन भिजेका लुगालाई डोरीमा झुण्डयाउंदै थियो। अपूर्वले पनि उसलाई देख्यो तर उसले कुनै प्रतिक्रिया देखाएन, पूर्ववत लुगाहरु डोरीमा सुकाइरह्यो। उसले हेरिरही, लुगा सुकाउन सकेर पनि ऊ तल गएन बरु कौसीको होचो डीलमा बसेर सडकतिर हर्ेन थाल्यो। उसका साना र घुम्रिएका कपाल हावाले उडाइ रहेथ्यो जसलाई ऊ बेलाबेलामा बांया हातले सम्याउंथ्यो। अर्को छिमेकीको छानामा एउटा विरालो चरा ताक्दै थियो ,उसले सानो ढुंगा टिपेर चरा भगायो र फर्केर पुलुक्क हेर्यो उसको अनुहारमा। उसले नदेखे झैं गरी अर्कोतिर मुख फर्काएर हांसी।सांझ गाढिंदै थियो अनि चिसो सिरेटो। ऊ तल ओर्ली। अपूर्व कति बेला ओल्र्यो, उसलाई थाहा भएन। रातको खाना बनाउनु थियो, त्यसैले ऊ भान्छामा व्यस्त भई। घर धन्दा सकाई कोठामा आउंदा उसका श्रीमान टिभी हेर्दै थिए। “मैले विहान भनेको फिल्म लगाउं है ?” श्रीमान धेरै दिन पछि शायद आज रोमान्टिक मूडमा थिए। वयस्कहरुले मात्र हेर्ने त्यो नीलो फिल्म थियो उनले भनेका, उसले बुझिहाली। “आ,छोड्नुस् ! बरु अरु च्यानेलमा के के आइराछन् हेरुं न।” उसको कुरामा ध्यानै नदिंइ उसको श्रीमानले उसलाई अंगालोमा बांधे। ” छि ः कस्तो छिल्लिएको।” उसले श्रीमानको अंगालो फुकाई। अनायसै उसका आंखा अगाडिका झ्यालमा परे। छिमेकीको कौसी र उसको बेडरुमको झ्याल एउटै हाराहारीमा नपरे पनि उनको कौसीबाट बेडरुम भने देख्न सकिन्थ्यो। अंध्यारोमा कौसीमा कोही सल्बलाएको जस्तै लाग्यो उसलाई। उसले अन्दाज गरी हो न हो त्यो अपूर्व नै थियो उभिरहेको। खै कुन्नि कति बेलादेखि थियो ऊ त्यहां। उसले झयालनिर उभिएर बाहिर आंखा तानी तानी हेरी, कौसी रित्तो थियो अंध्यारो। झ्यालमा सरक्क पर्दा तानी ऊ बेडमा बसी। उसमा भएको रुमानीपन हराइसकेको थियो, मुडै भएन। उसका श्रीमान छक्क परे। एकछिन अघि सम्म तातै थिई मीठो र मादक, कति छिटो चिसिई। ऊ सिरक तानेर पल्टी, रातभरी उसलाई अपूर्वले कौसीबाट लुकी लुकी हेरीरहे झैँ लागिरह्यो। भोलिपल्ट ऊ अफिस निस्कने समयतिर अपूर्व पहिले जस्तै सडकछेऊ उभिएको थियो। साथीलाई कर्ुर्दै थियो या त्यही वहानामा उसको निस्कने बेला हेर्दै थियो, उसले बुझ्न सकिन। रातको घटना सम्झेर उसले गहिरीएर उसको अनुहारमा हेरी, त्यहां कुनै अस्वाभाविकता र अपराध बोध थिएनन्। ऊ सधै झै ताजा र निर्दोष देखिन्थ्यो। उसका गोरा र कलिला गाला लालिमायुक्त थिए। उसका आंंखामा उत्सुकता बोलिरहेका थिए। ऊ अगाडि आउन्जेल अपूर्वले एकछिन कुर्यो त्यसपछि ऊ विपरित दिशातिर लाग्यो। अपूर्वको कलेज उसको अफिसभन्दा उल्टो दिशातिर हुनुपर्छ। सम्भवत त्यही भएर ऊ, घरबाट निस्की सडक नपुगुन्जेल ऊ त्यहीं हुन्थ्यो सडकमा उसलाई पर्खंदै। ऊ यकीन गरी भन्न सक्दिन उसैलाई पर्खेको भनी तर ऊ अफिस आउने जाने समय प्राय अपूर्व बाहिर सडकमै भेटिन्थ्यो। हिजो रातिको घटना एकपल्ट मात्र घटेको भए, त्यो उसलाई भ्रम मात्रै लाग्थ्यो तर त्यसपछि पनि प्रायः जसो समय अपूर्वका दुइ आंखाहरुले उसलाई पछ्याइरहे झै लाग्थ्यो। कौसी , कोठामा जहां बसिरहंदा पनि जब ऊ अपूर्वलाई देख्थी, ऊ उसैलाई हेरिरहेको हुन्थ्यो। जब उसको चोरी पक्रिइन्थ्यो,उसको गोरो अनुहारभरि संकोचको रातो फैलिन्थ्यो। अनि ऊ हडबडाएर अर्कोतिर हेथ्र्यो। घर छेऊ संगै बसाइको हिसावले ऊ छिमेकी थियो तर आर्श्चर्य उसले प्रत्यक्षत ऊसंग बोल्ने कोशीश कहिल्यै गरेन। ऊ माया लाग्दो पाराले हेरिरहन्थ्यो, हद गरे केही हांस्न खोजे झैं ओठमा कम्पन देखा पथ्र्यो। त्यो भन्दा बढी अपूर्वले उसप्रति कुनै प्रतिक्रिया देखाएन। त्यस्तै हूंदो त अरुले भए कत्रो नाता लायी साइनो गांसी आउने जाने बाटो पनि बनाइसक्थ्यो। उसलाई यही राम्रो लाग्थ्यो, अपूर्व अरु केटाहरु जस्तो उत्ताउलो देखिंदैनथ्यो। ऊ छिल्लिंदैनथ्यो साथीहरुसंग। उसका लवाइ,हिंडाइ र बानीमा कुनै असभ्यपना थिएन।त्यसो त उसले आफै पनि बोल्न कुनै, कहिल्यै पहल गरिन। के चासो परेको छ र - मन लागेको छ भने, पहिले उसले आफै बोलोस्, ऊ सोच्थी। बाटोमा कहिलेकाहिं आवतजावतको क्रममा अघिपछि हुंदा उसलाई लाग्थ्यो, अपूर्वले बोल्ने शुरुआत गर्छ होला। त्यही भएर अपूर्व अघि भए छिटो र पछि आउंदै गरेको भए ऊ ढिलो गरी हिड्थी। उसलाई अपूर्वले केही बोले हुन्थ्यो जस्तो लाग्थ्यो पनि। ऊ त्यस्तो बेला समेत पनि बोल्दैनथ्यो। बरु करुणा भरिएको आंखाले पुल्लुक्क हेथ्र्यो अनि टाउको निहुर्राई आफ्नो बाटो हिड्थ्यो। ऊ एकोहोरो नहेरी घरिघरि हेथ्र्यो उसलाई। पहिला उसलाई अपूर्वका दृष्टि अति, असहज र आपत्तिजनक लाग्थे। उसका दृष्टिहरुले कुनै अप्ठयारा नगरेका हुंदा उसलाई पछि त्यसरी हेरिनु पनि राम्रै लाग्न थाल्यो। कोठामा एक्लै हुंदा मात्र हैन ऊ श्रीमान हुंदा पनि एक्लिएकी हुन्थी। श्रीमानको काम र अभिरुचिका आफनै दुनियां थियो र त्यो संसारमा उसकी मायाकी भोकी उसकी श्रीमती पनि छे भन्ने कुरा कामको चापमा उनी प्राय विर्सन्थे। उसको चाहना हुन्थ्यो श्रीमानसंग मीठामीठा कुरा गरी बस्ने,बाहिर जाने, डुल्ने। जब ऊ उपेक्षित महशुश गर्थी आफूलाई ,उसलाई अत्यास लाग्थ्यो कोठामा, त्यही भएर ऊ प्राय त्यस्ता ठांउमा बस्ने गर्थी जहांबाट अपूर्वले उसलाई राम्ररी देख्न सकोस्। हेराइको तातोले उसलाई एक्लो भएको भान हुन दिंदैनथ्यो ।कहिलेकाहि ऊ अफिसबाट चांडै वा ढिलो घर पुग्दा भने बाटोमा अपूर्व भेटिन्नथ्यो। सम्भवत ऊ उसलाई कुरेर हिंडिसकेको हुन्थ्यो। उसका दृष्टिका अभ्यस्त आंखाहरु पनि अपूर्वलाई अनायसै खोज्थ्यो सडकछेऊ,पसलहरुमा र अलि टाढैसम्म। आफू ढिला आइएको बिर्से आज कहां अल्मलिएछ त भन्ने सोच्दै ऊ बिना काम कौसी भित्रबाहिर ओहेरदोहोर गरिरहन्थी। त्यो दिन खल्लो लाग्थ्यो उसलाई ,नियास्रो मानिरहन्थी। घर बाहिर गल्लीतिर कोही बोले पनि अपूर्वको स्वरको झस्का लाग्थ्यो उसलाई।आफूमा आएको यो परिवर्तन के हो, उसले कहिल्यै विश्लेषण गर्न चाहिन। तर त्यो परिवर्तनभित्र प्रशन्नता थियो उसको। पहिले झैं ऊ आत्माभित्र एक्लै थिइन अब। मनभित्रको एकाकीपनको लागि एउटा राम्रो साथी पाएकी थिई उसले अपूर्वको रुपमा। ऊ अपूर्वलाई देखेर खुशी हुन्थी , उसको अनुहार धपक्क बल्थ्यो। उनीहरु एकअर्का संग बोल्दैनथे तर त्यो मौनतामा पनि ऊ अघाउंथी। अपूर्वले उसलाई गहिरीएर हर्ेदा र सडक छेऊ उसको निम्ति कुरी बसेको देख्दा उसलाई निको लाग्थ्यो। अपूर्व भर्खरको केटो थियो कलेज पढ्दै गरेको ऊ आफू अपूर्व भन्दा परिपक्व र विवाहिता। कामैमा मात्र डुबिरहने भिन्न प्रकृतिका श्रीमानसंग उसका लागि समय थिएनन्। ऊ खाली रहन्थी र खोज्थी मुटु रसाउने भावनाहरु। सपनाहरु बुनेर ऊ मायामा रमाउन खोज्थी त्यसैले ऊभित्रको रिक्तता नजानिंदोसंग अपूर्वप्रतिको अनुरागले भरिंदै थियो। उसको सोच र सपनामा अपूर्व आउन थालेको थियो। उसको बारेमा सोची बस्दा ऊ रोमान्चीत हुन्थी। विना छेकवार र सांध सिमानाका कल्पना पनि कस्ता कस्ता,कसैको कल्पनामा कसले पो लगाम लगाउन सक्छ र -भ्यालेन्टाइन डे, सडकछेऊका प्राय पसलहरुमा गुलाफका रंगिन पोष्टरहरु र कागजका रंगीचंगी हर्टशेपहरु बनाई झुण्डयाइएको थियो। आफना प्रियहरुप्रति प्रेम दर्शाउन कार्ड,बुकी र चकलेटलाई माध्यम बनाउंने दिन आज। विहान उसले श्रीमानलाई सांझको लागि कुनै प्रोग्राम छ कि भनी सोधेकी थिई। उसका श्रीमान बोलेनन्,शायद फुर्सद थिएन। गिफट पसल भएर जांदा उसलाई पनि रहर लाग्यो,कति राम्रा कार्डहरु। उसले कुनै खाले पनि कार्डहरु पाएकी थिइन आजसम्म। अफिसमा खासै काम थिएन , दिउंसो अफिसबाट छिटै निस्केर बजार छिरेकी थिई ऊ। केही नभए पनि विन्डो शपिड. गर्ने विचार थियो उसको। उसले एउटा पसल छेऊ अपूर्वलाई देखी साथीसंग कुरा गर्दै गरेको। स्वाभाविक उत्सुकताले स्वचालित ऊ त्यो पसलसंगैको दोश्रो पसलमा गई कस्मेटिकका सामानहरु हेर्न थाली। अपूर्वले अझै देखेको थिएन उसलाई। उसको साथीले कानेखुशी गरेपछि अपूर्व ऊतिर फर्कियो। शायद उसले चांडै कुरा सकायो र टाउको हल्लाउंदै साथीलाई बिदा गर्यो। केही भन्न खोजे झै अन्यमनस्क दोधारमा ऊ उभियो एकछिन। तर केही नबोली अगाडि बढ्यो र अलि पर गै उभियो। उसलाई पनि दोधार भयो जाउं कि नजाउं भन्ने। ऊ उभिएको देखेर उसले केही सोची र अगाडि बढी। उसलाई आफनो पछाडि आउंदै गरेको देखेर अपूर्व एउटा ठूलो गिफ्ट पसलमा छिरेर केही बेरको लागी बिलायो। त्यो पसलको पारदर्शी सीसाको ढोकामा गुलाफको फूल समाइरहेका प्रणय जोडीको पोष्टर थियो। उसलाई के गरुं के नगरुं भयो। बढ्दै गएको कौतुहलताले गर्दा कसैलाई कुरे झैं गरी ऊ त्यही पसल अघि उभिरही। एकैछिनमा अपूर्व उसको सामुन्ने आइपुग्योे, हात पछाडि राखी। अपूर्वलाई यति अगाडि देखेर ऊ स्तब्ध भै पहिले त। उसले अनुमान गरी अब उसले कार्ड दिनेछ ,डराउंदै सोची शायद भ्यालेन्टाइन कार्ड। उसको मुटुको धडकन बढ्यो। त्यो कार्ड स्वीकार्ने कि नस्वीकार्ने भनी सोच्दै थिई उसको हातमा कार्डको र्स्पर्श भयो। मिश्रित भावमा उसले कार्ड खोली, “आदरणीय दिदी मेरी पनि एकजना दिदी हुनुहुन्थ्यो तपाई जस्तै राम्रीं। मलाई धेरै माया गर्ने। तीन वर्षअगाडि वहां बम बिस्फोटमा पर्नु भयो। तपाईमा म वहांकै झल्को पाउंछु र श्रध्दा गर्छु सप्रेम तपाईको भाइ अपूर्व।”कार्डमा लेखिएका एक एक अक्षरहरुले उसलाई अपराध बोध गराउंदै थिए। रसाउंदै गरेका आंखाले धुमिल दृष्टि बीच उसले शिथिल आवाजमा बोलाउन खोजी “भाइ”। ग्लानीले भरिएको आवाज अपूर्वले सुनेन,ऊ उसको आवाजको पहुचभन्दा टाढा पुगिसकेको थियो।
माइसंसारडटकम बाट साभार

Monday, January 7, 2008

बाख्राको गर्भमा मानव शिशु

मकवानपुर जिल्लाको पश्चिम कालिकाटार गाविस-१ देवीडाँडाका एक कृषकको बाख्राको गर्भमा मानव शिशु फेला परेको छ । कृषक कृष्णबहादुर विकले पालेको बाख्राको गर्भमा मानव शिशु फेला परेको हो । मानव शिशुको तौल ६ किलोग्राम रहेको र शिशुको मृत्यु भईसकेको बताईएको छ । बाख्राले बच्चा जन्माउन नसकेपछि मरेको बाख्राको मासु खान स्थानीय गणेशबहादुर विकले पेट चिर्दा एउटा पाठो र अर्को मानव शिशु फेला परेको अखिल नेपाल रिक्सा चालक मजदुर सङ्घका अध्यक्ष कृष्णा रेग्मीले बताउनुभयो ।

Thursday, January 3, 2008

मुकुका दुइ मुक्तक

लास म सडकको के जोड्छ्यौ र माया
बास म सडकको के जोड्छ्यौ र माया
म एउटा खुला सडक, तिमी कुल्चिदै जाउ
खास म सडकको के जोड्छ्यौ र माया ।



गाजलु ती तिम्रा आँखा यो मुटुमा धार भए
सपनीमा सोंच्ने गर्थे मुटु जोड्ने तार भए
कलेजका प्रत्येक पल एउटा रुपको खोजी गरे
अनायास नजर जुध्यो दुइ आँखा चार भए ।

Tuesday, January 1, 2008

अस्तित्व

विपिन शर्मा

सामानहरू ब्यागमा हाल्दै गर्दा अचानक दीपालाई वाकवाकी लाग्यो। ऊ छेवैको बाथरुममा गई र बान्ता गरी । आज बिहान मात्र उसलाई डाक्टरले भनेकी थिइन् “It’s the symptom of early pregnancy. Don’t worry, but…” अनि डाक्टर भन्दै गइन्- “यस्तो बेलामा धेरै विचार पुर्‍याउनु पर्ने हुन्छ। जोखिमको काम नगर्नुस्, गह्रौ भारी नउचाल्नुस् र बढी भन्दा बढी आराम गर्नुस् ।”
“तपाईको श्रीमानलाई पनि” डाक्टरले भनिन् “यस बारेमा सचेत गराउन जरुरी हुन्छ । साँच्चै, के काम गर्नुहुन्छ उहाँ ?” सायद यो प्रश्नको जवाफ दीपासँग थिएन । एकछिन अनकनाएर उसले भनी “उहाँ विदेशमा हुनुहुन्छ ।”
दीपाको लागि आजदेखि यो घर विरानो बन्दैछ । ऊ जाँदैछे आज । लाग्छ पश्चिमतिर अस्ताउन लागेको घामले भन्दैछ “दीपा चाँडो गर, नत्र म तिम्रो बाटोको सारा उज्यालो उठाएर लगिदिन्छु ।” दीपा एक नजर अस्ताउँदो घामलाई हेर्छे । उसको मनमा कुन्नि के हुन्छ- ऊ अलिकति उदास बन्छे । तर उसले आज यहाँबाट जानैछ, जसरी पनि ।
त्यहाँ भएका धेरै कुरा उसका भएर पनि ऊ लैजान चाहन्नथी। केही सामान जुन ऊ आफैंले किनेकी हो तिनमा द्विविधा थिएन तर अरु सामान ऊ सोची-सोची हाल्दैछे । यही क्रममा कैयौं प्रसङ्गहरू उसको मानसपटलमा आउँदै-जाँदै गर्दैछन् । उसलाई लाग्छ बितेको समय त धुलोको कणझैं यी सामानहरूमा पो टाँसिएको रहेछ । दीपा सम्झन्छे कसरी ऊ यहाँ आइपुगी -
आमा कहिले मरिन् उसलाई थाहाछैन । बाबु मर्दा ऊ सोह्र वर्षकी थिई । घरको आर्थिक अवस्था कमजोर थियो । ऊ भन्दा अघिका दिदीहरूको क्रमश: पन्द्र, सत्र र अठार वर्षको उमेरमा बिहे भएको थियो जसको भार बाबुलाई बोक्नु न बिसाउनु भएको थियो । कान्छा रसाईली सधैं भन्ने गर्थे “तिन्टी छोरीको त पार लगाएँ जे जसरी भएपनि, अब यो कान्छीको के गरी गरौं ? गैरीखेत नभा’ पाखोबारी निखन्न पाए नि त्यसैले बन्दोबस्त हुन्थ्यो ।” तर सोचेजस्तो कहाँ हुन्थ्यो र ? पीरै पीरको भारी बोकेको कान्छोले एकदिन खै कुन्नि कस्तो रक्सी पारेको थियो घरमा, दुई गिलास पिएर चर्पी गएको फर्केन ।
काज किर्याको त के कुरा गर्नु उल्टै साहुहरूले घर घेरे । नावालक छोरी मात्र के गरोस् र ? दीपाले भनी दिई “बुबाको लास उठाउन दिनुस् घरबारी जे जति छ तपाईहरूले बाँडिचुँडी लानुहोला।“
भन्न त भनी तर ऊ के गरोस् ? उसको कुनै उपाय थिएन । एक त गरिब त्यहाँ माथि कथित तल्लो जाति । तर अजिङ्गरको आहारा दैवले पुर्‍याउँछन् भनेझैं एकजना सामाजिक कार्यकर्ताको सहयोगमा लास उठ्यो । हो, भाष्‍कर तिवारीले गाउँका सवै युवाको सहयोग लिएर कान्छाको दाहसंस्कार गराए । छोराले गर्ने बाबुको संस्कार सबै (कपाल काट्ने बाहेक) दीपाले गरी। कुसंस्कारको भारी बोकेको समाज नराम्ररी जिल्लियो ।
यति त भयो तर बाबुले लिएको ऋणका तमसुकले घरखेत खाने नै भयो । कहाँ जाने, के गर्ने भन्ने अन्योल भइरहेको बेला दीपालाई भाष्करले आफूसँग लगेर पढाउने प्रस्ताव गर्‍यो । विकल्परहित दीपालाई यो भन्दा उत्तम के हुनसक्थ्यो र ? ऊ भाष्करसँग काठमाण्डौ आई । अनि उनीहरू तीनजनाको परिवार भयो- दीपा, भाष्कर र भाष्करकी पत्‍नी- दिब्या।
आर्थिक अभावले गर्दा दीपाले गाउँमा राम्रो पढ्न सकेकी थिइन । सोह्र वर्षको उमेरमा बल्ल सातमा पढ्दै गरेकी दीपालाई भाष्करले सामान्य अङ्ग्रेजी स्कुलमा भर्ना गरिदियो । बिहान बेलुका दिब्यालाई घरको काम सघाएर पनि दीपालाई प्रसस्तै पढ्ने समय निस्कन्थ्यो । अनि सोही समयको सदुपयोगबाट दीपाले आफ्नो बौद्धिकता बढाइरहेकी थिई । ऊ कक्षामा प्रथम हुन थाली । यसरी दिनानुदिन उसले पढाइमा प्रगति गर्दैगई । त्यसैगरि दिब्या गर्भवती हुँदा र सुत्केरी हुँदा जुन किसिमले सहयोग पुर्‍याई दिब्या लाई त्यो गुन बिर्सिनसक्नु थियो ।
पढाइ र शीलस्वभाव मात्र होइन रूपमा पनि दीपा बिछट्ट राम्री थिई । उसको सौन्दर्य देखेर त दिव्यालाई समेत कहिलेकाहीँ इर्श्या लाग्थ्यो । तर के गर्नु जसको भाग्यमा जति लेखेको छ...
“दीपु...! यहाँ आऊ त” भाष्कर प्राय दीपु नै भन्ने गर्छ ।
भाष्करका केही साथिहरू आएका रहेछन्, त्यसैले उसले चिया बनाउनु भन्नको लागि बोलाएको रहेछ।
लहलहाउँदो कपाल, छिनेको कम्मर, ताजा गुलाफको पत्रझैं ओठ... भो छोडिदिऊँ उसको रूपको वर्णन गरेर साध्यै छैन । दीपालाई देखेर भाष्करको साथी अनमोल हेरेको हेर्‍यै भयो । अनि खै कुन्नि के खासखुस गर्‍यो दीपाले बुझिन । उसलाई लाजले/डरले के ले हो के ले चिया लिएर जान मन थिएन । तर नगई उपाय पनि त थिएन, आजै दिब्या केही दिनका लागि माइत गएकी थिइन् ।
एसएलसी परिक्षा आउन लागेको थियो । करिव १० दिन मात्र बाँकी । रात छिप्पिदै थियो । दीपा अध्ययनमा ब्यस्त थिई । अचानक भाष्कर कोठामा पस्छ । दीपालाई एकटक हेरिरहन्छ । दीपा केही बोल्न सक्दिन । ऊ सकेसम्म बेवास्ता गर्न खोज्छे । बाबुसमान मानेको भाष्करको हेराई किन-किन आज उसलाई अस्वभाविक लागिरहेको थियो । तर भाष्करले हेरिनै रहन्छ । दीपालाई खपिनसक्नु अप्ठेरो लाग्छ । ऊ बाहिर निस्कन खोज्छे । ढोका निरै उभिए भाष्करले बाटो छेक्छ ।
“दीपु तिमी साँच्चै राम्री छ्यौ ।” उ भन्दै जान्छ “म पनि कति मुर्ख माली आफ्नै बगैंचामा फुलेको फूल चिन्न नसक्ने ।” यतिन्जेल उसको एउटा हात दिपाको केशराशिमा चल्न थालिसकेको थियो भने अर्को हात उसको वक्षस्थलमा । निरिह दीपा... एक पटक त भन्छे “नगर्नुस् न सर, छि के गरेको यस्तो ।” उसले फुत्कन कोशिश गर्छे “म तपाईलाई बुबाझैं इज्जत गर्छु ।” तर दीपाका यी शब्दहरू ब्यर्थ भए । अनि भाष्कर विजयपथमा अघि बढेको योद्धाझैं उन्मत्त भएर दीपाका अङ्ग प्रत्यङ्गसँग खूव खेल्छ । दीपा बेहोसझैं हुन्छे । भाष्कर पसिनाले लफ्रक्क भिजेर उत्तानो पर्छ । केही क्षण पछि दिपाले तन्दा भिजेको आभासले छाम्छे र हात हेर्छे रगताम्य...।
त्यसदिन पश्चात दीपा विक्षिप्त हुन्छे । तर ऊ केही गर्न सक्दिन । आफूलाई एउटा नाजुक अवस्थावाट उठाएर यहाँसम्म ल्याउने मान्छे जसलाई उसले मनैदेखि देवता समान मानेकी थिई उसको दानवरूपको बारेमा ऊ कसलाई सुनाओस् । अनि फेरि उसले यो अन्धो समाजलाई पनि त चिनेकी थिई... जो कमजोर छ उसैमाथि दोष थोपरिन पनि त सक्थ्यो ।
भाष्कर दिव्याको अनुपस्थितिमा दीपाको कोठामै रात बिताउने गर्नथाल्यो । असहाय दीपाले यो शोषणलाई स्वभाविक मान्न बाध्य भई । त्यसरी आएको रात भाष्कर दीपालाई दुई चक्की औषधि खान दिन्थ्यो । दीपा निर्विरोध खाईदिन्थी ।
पटक-पटक बलात्कृत भएपछि दीपाले पढ्न सकिन । ऊ एसएलसीमा पनि फेल भई र पढाइमा चासो पनि त्यति राखिन । तर पत्र-पत्रिकाहरू भने विशेष रुचि लिएर पढ्ने उसको स्वभाव कायमै रह्यो । साथै ऊ त्यहीं अफिस कोठामा भएका भाष्करका रिसर्च पेपर, केस स्टडिहरू विशेष रुचिका साथ पढ्थी । जसले गर्दा नजानिंदो गरी उसमा चेतनाको विकास भइरहेको थियो ।
एकदिन दीपाले भाष्करसँग जागिर खाने अनुमति मागी । उसले पहिला त “किन तिमीलाई जागिर खान पर्‍यो?” भनेर कडा स्वरमा सोध्यो । तर पछि दिब्यासँग सल्लाह गरेर भनौंला भन्यो ।
“उ स्कूल जाँदा त ठिकै थियो भने म के भन्थे र ?” दिब्याको यस्तो जवाफ आएपछि दीपालाई बाटो खुल्यो । यस्तै कुराहरू भएका थिए र आज तिनै कुराहरू श्रृङ्खलाविहिन रूपमा पुनरावृत भइरहेका थिए दीपाको स्मृतिमा।
एउटा खाम बन्द चिठीमा कुन्नि के लेखेकी थिई दीपाले, साइडटेवलको घर्रामा राखिदिई। तर ऊ निस्कन नपाउँदै कोही आएको संकेत कलबेलले गर्‍यो । दीपा ढोका खोल्न गई, भाष्कर आएको रहेछ । ऊ सरासर दीपाको कोठामा आयो (दिव्याको अनुपस्थितिमा ऊ त्यसै गर्थ्यो) ।
भाष्करले अचम्मित हुँदै सोध्यो- “यो के हो?” दीपा एकछिन केही बोल्न सकिन । अनि आफू भित्रको सारा हिम्मत एकढिक्को पारेर भनी “म आज जाँदैछु ।”
“कहाँ?”
“जहाँ भाग्यले डोहोर्‍याउँछ।”
“किन?”
“...म गर्भवति छु।“
“कसरी?” सधैं सुरक्षाको उपाय अपनाएको ऊ झस्कनु स्वभाविक थियो ।
“मैले तपाईले दिएको चक्की खान छाडेको थिएँ ।”
“किन?”
“म भित्रको नारित्व जागेर ।”
“यो हुनसक्दैन तिमीले एभोर्सन गर्नुपर्छ...गर्नैपर्छ ।”
“कदापि गर्दिन । म जन्म दिन्छु यसलाई ।”
“यो सव तेरो चाल हो । तैंले मेरो सम्पत्तिमा हक लगाउन यसो गरेकी होस् । कुन अवस्थामा उठाएर ल्याएँ तलाई थाहा छ ?” भाष्करले आफ्नो असली रूप देखाउँदै बिषवमन गर्‍यो
“थाहा छ, सब थाहा छ। त्यसैले त पटक पटक बलात्कृत हुँदा पनि सहें”, ऊ भन्दै गई “तपाई जति तुच्छ सोच्नुहुन्छ म त्यस्तो छैन । झिंगा लागोस तपाईको सम्पत्तिमा । मैले यसरी कैयौं पटक आफ्नो शरीर तपाईलाई सुम्पनु परेपछि निर्धक्क वेश्यावृत्ति गर्न थाले ।”
“त्यसोभए यो सन्तान त कसको हो के ठेगान ?”
“यो तपाईकै हो, तर सम्पत्ति माथि दाबी गर्ने तुच्छ काम म गर्दिन । म आफ्नै वर्कतमा, आफ्नै अस्तित्वमा बाँच्न चाहन्छु । मेरो सन्तानलाई मेरै पहिचान दिन्छु । यदि कुनै दिन उसलाई बावुको परिचय आवश्यक परेछ नै भने तपाई सामू आउँला । अहिलेसम्म मलाई गर्नु भएको सहयोगको लागि धन्यवाद ।”
भाष्कर कही भन्न खोज्छ । तर उसको मुखबाट शव्द निस्कदैनन् । दीपा ब्यागहरू उठाउँछे र जान्छे । पराजित आँखाले भाष्कर दीपालाई हेरिरहन्छ गेटबाट नबाहिरिएसम्म ।


यो कथा तन्नेरीडटकम बाट साभार गरिएको हो ।

गजल

रुपक पन्त

रिसाउँछौ किन सानु एकफेर हाँसिदेउन
त्यो मनले यो मनसँग मीठो नाता गाँसीदेउन

के भूल गरेँ भन मैले किन बोल्नै छाड्यौ अचेल
रीसराग बैरभाव जे छ सबै मासिदेउन

कसरी म बाँचु र खै तिमीबाट टाढा रही
दिन्छु माया तिमीलाई अँजुलीमा थापीदेउन

राखेको छु तिमीलाई हृदयमा सजाएर
मेरो तस्वीर तिम्रो मनको मझेरीमा टाँसिदेउन

कति बस्छौ सधैँ भरी कोमल मनलाई तड्पाएर
शंका किन अबोधझैँ सुटुक्क मन साटिदेउन
यो गजल तन्नेरीडटकम बाट साभार गरिएको हो ।