Monday, January 7, 2008

बाख्राको गर्भमा मानव शिशु

मकवानपुर जिल्लाको पश्चिम कालिकाटार गाविस-१ देवीडाँडाका एक कृषकको बाख्राको गर्भमा मानव शिशु फेला परेको छ । कृषक कृष्णबहादुर विकले पालेको बाख्राको गर्भमा मानव शिशु फेला परेको हो । मानव शिशुको तौल ६ किलोग्राम रहेको र शिशुको मृत्यु भईसकेको बताईएको छ । बाख्राले बच्चा जन्माउन नसकेपछि मरेको बाख्राको मासु खान स्थानीय गणेशबहादुर विकले पेट चिर्दा एउटा पाठो र अर्को मानव शिशु फेला परेको अखिल नेपाल रिक्सा चालक मजदुर सङ्घका अध्यक्ष कृष्णा रेग्मीले बताउनुभयो ।

Thursday, January 3, 2008

मुकुका दुइ मुक्तक

लास म सडकको के जोड्छ्यौ र माया
बास म सडकको के जोड्छ्यौ र माया
म एउटा खुला सडक, तिमी कुल्चिदै जाउ
खास म सडकको के जोड्छ्यौ र माया ।



गाजलु ती तिम्रा आँखा यो मुटुमा धार भए
सपनीमा सोंच्ने गर्थे मुटु जोड्ने तार भए
कलेजका प्रत्येक पल एउटा रुपको खोजी गरे
अनायास नजर जुध्यो दुइ आँखा चार भए ।

Tuesday, January 1, 2008

अस्तित्व

विपिन शर्मा

सामानहरू ब्यागमा हाल्दै गर्दा अचानक दीपालाई वाकवाकी लाग्यो। ऊ छेवैको बाथरुममा गई र बान्ता गरी । आज बिहान मात्र उसलाई डाक्टरले भनेकी थिइन् “It’s the symptom of early pregnancy. Don’t worry, but…” अनि डाक्टर भन्दै गइन्- “यस्तो बेलामा धेरै विचार पुर्‍याउनु पर्ने हुन्छ। जोखिमको काम नगर्नुस्, गह्रौ भारी नउचाल्नुस् र बढी भन्दा बढी आराम गर्नुस् ।”
“तपाईको श्रीमानलाई पनि” डाक्टरले भनिन् “यस बारेमा सचेत गराउन जरुरी हुन्छ । साँच्चै, के काम गर्नुहुन्छ उहाँ ?” सायद यो प्रश्नको जवाफ दीपासँग थिएन । एकछिन अनकनाएर उसले भनी “उहाँ विदेशमा हुनुहुन्छ ।”
दीपाको लागि आजदेखि यो घर विरानो बन्दैछ । ऊ जाँदैछे आज । लाग्छ पश्चिमतिर अस्ताउन लागेको घामले भन्दैछ “दीपा चाँडो गर, नत्र म तिम्रो बाटोको सारा उज्यालो उठाएर लगिदिन्छु ।” दीपा एक नजर अस्ताउँदो घामलाई हेर्छे । उसको मनमा कुन्नि के हुन्छ- ऊ अलिकति उदास बन्छे । तर उसले आज यहाँबाट जानैछ, जसरी पनि ।
त्यहाँ भएका धेरै कुरा उसका भएर पनि ऊ लैजान चाहन्नथी। केही सामान जुन ऊ आफैंले किनेकी हो तिनमा द्विविधा थिएन तर अरु सामान ऊ सोची-सोची हाल्दैछे । यही क्रममा कैयौं प्रसङ्गहरू उसको मानसपटलमा आउँदै-जाँदै गर्दैछन् । उसलाई लाग्छ बितेको समय त धुलोको कणझैं यी सामानहरूमा पो टाँसिएको रहेछ । दीपा सम्झन्छे कसरी ऊ यहाँ आइपुगी -
आमा कहिले मरिन् उसलाई थाहाछैन । बाबु मर्दा ऊ सोह्र वर्षकी थिई । घरको आर्थिक अवस्था कमजोर थियो । ऊ भन्दा अघिका दिदीहरूको क्रमश: पन्द्र, सत्र र अठार वर्षको उमेरमा बिहे भएको थियो जसको भार बाबुलाई बोक्नु न बिसाउनु भएको थियो । कान्छा रसाईली सधैं भन्ने गर्थे “तिन्टी छोरीको त पार लगाएँ जे जसरी भएपनि, अब यो कान्छीको के गरी गरौं ? गैरीखेत नभा’ पाखोबारी निखन्न पाए नि त्यसैले बन्दोबस्त हुन्थ्यो ।” तर सोचेजस्तो कहाँ हुन्थ्यो र ? पीरै पीरको भारी बोकेको कान्छोले एकदिन खै कुन्नि कस्तो रक्सी पारेको थियो घरमा, दुई गिलास पिएर चर्पी गएको फर्केन ।
काज किर्याको त के कुरा गर्नु उल्टै साहुहरूले घर घेरे । नावालक छोरी मात्र के गरोस् र ? दीपाले भनी दिई “बुबाको लास उठाउन दिनुस् घरबारी जे जति छ तपाईहरूले बाँडिचुँडी लानुहोला।“
भन्न त भनी तर ऊ के गरोस् ? उसको कुनै उपाय थिएन । एक त गरिब त्यहाँ माथि कथित तल्लो जाति । तर अजिङ्गरको आहारा दैवले पुर्‍याउँछन् भनेझैं एकजना सामाजिक कार्यकर्ताको सहयोगमा लास उठ्यो । हो, भाष्‍कर तिवारीले गाउँका सवै युवाको सहयोग लिएर कान्छाको दाहसंस्कार गराए । छोराले गर्ने बाबुको संस्कार सबै (कपाल काट्ने बाहेक) दीपाले गरी। कुसंस्कारको भारी बोकेको समाज नराम्ररी जिल्लियो ।
यति त भयो तर बाबुले लिएको ऋणका तमसुकले घरखेत खाने नै भयो । कहाँ जाने, के गर्ने भन्ने अन्योल भइरहेको बेला दीपालाई भाष्करले आफूसँग लगेर पढाउने प्रस्ताव गर्‍यो । विकल्परहित दीपालाई यो भन्दा उत्तम के हुनसक्थ्यो र ? ऊ भाष्करसँग काठमाण्डौ आई । अनि उनीहरू तीनजनाको परिवार भयो- दीपा, भाष्कर र भाष्करकी पत्‍नी- दिब्या।
आर्थिक अभावले गर्दा दीपाले गाउँमा राम्रो पढ्न सकेकी थिइन । सोह्र वर्षको उमेरमा बल्ल सातमा पढ्दै गरेकी दीपालाई भाष्करले सामान्य अङ्ग्रेजी स्कुलमा भर्ना गरिदियो । बिहान बेलुका दिब्यालाई घरको काम सघाएर पनि दीपालाई प्रसस्तै पढ्ने समय निस्कन्थ्यो । अनि सोही समयको सदुपयोगबाट दीपाले आफ्नो बौद्धिकता बढाइरहेकी थिई । ऊ कक्षामा प्रथम हुन थाली । यसरी दिनानुदिन उसले पढाइमा प्रगति गर्दैगई । त्यसैगरि दिब्या गर्भवती हुँदा र सुत्केरी हुँदा जुन किसिमले सहयोग पुर्‍याई दिब्या लाई त्यो गुन बिर्सिनसक्नु थियो ।
पढाइ र शीलस्वभाव मात्र होइन रूपमा पनि दीपा बिछट्ट राम्री थिई । उसको सौन्दर्य देखेर त दिव्यालाई समेत कहिलेकाहीँ इर्श्या लाग्थ्यो । तर के गर्नु जसको भाग्यमा जति लेखेको छ...
“दीपु...! यहाँ आऊ त” भाष्कर प्राय दीपु नै भन्ने गर्छ ।
भाष्करका केही साथिहरू आएका रहेछन्, त्यसैले उसले चिया बनाउनु भन्नको लागि बोलाएको रहेछ।
लहलहाउँदो कपाल, छिनेको कम्मर, ताजा गुलाफको पत्रझैं ओठ... भो छोडिदिऊँ उसको रूपको वर्णन गरेर साध्यै छैन । दीपालाई देखेर भाष्करको साथी अनमोल हेरेको हेर्‍यै भयो । अनि खै कुन्नि के खासखुस गर्‍यो दीपाले बुझिन । उसलाई लाजले/डरले के ले हो के ले चिया लिएर जान मन थिएन । तर नगई उपाय पनि त थिएन, आजै दिब्या केही दिनका लागि माइत गएकी थिइन् ।
एसएलसी परिक्षा आउन लागेको थियो । करिव १० दिन मात्र बाँकी । रात छिप्पिदै थियो । दीपा अध्ययनमा ब्यस्त थिई । अचानक भाष्कर कोठामा पस्छ । दीपालाई एकटक हेरिरहन्छ । दीपा केही बोल्न सक्दिन । ऊ सकेसम्म बेवास्ता गर्न खोज्छे । बाबुसमान मानेको भाष्करको हेराई किन-किन आज उसलाई अस्वभाविक लागिरहेको थियो । तर भाष्करले हेरिनै रहन्छ । दीपालाई खपिनसक्नु अप्ठेरो लाग्छ । ऊ बाहिर निस्कन खोज्छे । ढोका निरै उभिए भाष्करले बाटो छेक्छ ।
“दीपु तिमी साँच्चै राम्री छ्यौ ।” उ भन्दै जान्छ “म पनि कति मुर्ख माली आफ्नै बगैंचामा फुलेको फूल चिन्न नसक्ने ।” यतिन्जेल उसको एउटा हात दिपाको केशराशिमा चल्न थालिसकेको थियो भने अर्को हात उसको वक्षस्थलमा । निरिह दीपा... एक पटक त भन्छे “नगर्नुस् न सर, छि के गरेको यस्तो ।” उसले फुत्कन कोशिश गर्छे “म तपाईलाई बुबाझैं इज्जत गर्छु ।” तर दीपाका यी शब्दहरू ब्यर्थ भए । अनि भाष्कर विजयपथमा अघि बढेको योद्धाझैं उन्मत्त भएर दीपाका अङ्ग प्रत्यङ्गसँग खूव खेल्छ । दीपा बेहोसझैं हुन्छे । भाष्कर पसिनाले लफ्रक्क भिजेर उत्तानो पर्छ । केही क्षण पछि दिपाले तन्दा भिजेको आभासले छाम्छे र हात हेर्छे रगताम्य...।
त्यसदिन पश्चात दीपा विक्षिप्त हुन्छे । तर ऊ केही गर्न सक्दिन । आफूलाई एउटा नाजुक अवस्थावाट उठाएर यहाँसम्म ल्याउने मान्छे जसलाई उसले मनैदेखि देवता समान मानेकी थिई उसको दानवरूपको बारेमा ऊ कसलाई सुनाओस् । अनि फेरि उसले यो अन्धो समाजलाई पनि त चिनेकी थिई... जो कमजोर छ उसैमाथि दोष थोपरिन पनि त सक्थ्यो ।
भाष्कर दिव्याको अनुपस्थितिमा दीपाको कोठामै रात बिताउने गर्नथाल्यो । असहाय दीपाले यो शोषणलाई स्वभाविक मान्न बाध्य भई । त्यसरी आएको रात भाष्कर दीपालाई दुई चक्की औषधि खान दिन्थ्यो । दीपा निर्विरोध खाईदिन्थी ।
पटक-पटक बलात्कृत भएपछि दीपाले पढ्न सकिन । ऊ एसएलसीमा पनि फेल भई र पढाइमा चासो पनि त्यति राखिन । तर पत्र-पत्रिकाहरू भने विशेष रुचि लिएर पढ्ने उसको स्वभाव कायमै रह्यो । साथै ऊ त्यहीं अफिस कोठामा भएका भाष्करका रिसर्च पेपर, केस स्टडिहरू विशेष रुचिका साथ पढ्थी । जसले गर्दा नजानिंदो गरी उसमा चेतनाको विकास भइरहेको थियो ।
एकदिन दीपाले भाष्करसँग जागिर खाने अनुमति मागी । उसले पहिला त “किन तिमीलाई जागिर खान पर्‍यो?” भनेर कडा स्वरमा सोध्यो । तर पछि दिब्यासँग सल्लाह गरेर भनौंला भन्यो ।
“उ स्कूल जाँदा त ठिकै थियो भने म के भन्थे र ?” दिब्याको यस्तो जवाफ आएपछि दीपालाई बाटो खुल्यो । यस्तै कुराहरू भएका थिए र आज तिनै कुराहरू श्रृङ्खलाविहिन रूपमा पुनरावृत भइरहेका थिए दीपाको स्मृतिमा।
एउटा खाम बन्द चिठीमा कुन्नि के लेखेकी थिई दीपाले, साइडटेवलको घर्रामा राखिदिई। तर ऊ निस्कन नपाउँदै कोही आएको संकेत कलबेलले गर्‍यो । दीपा ढोका खोल्न गई, भाष्कर आएको रहेछ । ऊ सरासर दीपाको कोठामा आयो (दिव्याको अनुपस्थितिमा ऊ त्यसै गर्थ्यो) ।
भाष्करले अचम्मित हुँदै सोध्यो- “यो के हो?” दीपा एकछिन केही बोल्न सकिन । अनि आफू भित्रको सारा हिम्मत एकढिक्को पारेर भनी “म आज जाँदैछु ।”
“कहाँ?”
“जहाँ भाग्यले डोहोर्‍याउँछ।”
“किन?”
“...म गर्भवति छु।“
“कसरी?” सधैं सुरक्षाको उपाय अपनाएको ऊ झस्कनु स्वभाविक थियो ।
“मैले तपाईले दिएको चक्की खान छाडेको थिएँ ।”
“किन?”
“म भित्रको नारित्व जागेर ।”
“यो हुनसक्दैन तिमीले एभोर्सन गर्नुपर्छ...गर्नैपर्छ ।”
“कदापि गर्दिन । म जन्म दिन्छु यसलाई ।”
“यो सव तेरो चाल हो । तैंले मेरो सम्पत्तिमा हक लगाउन यसो गरेकी होस् । कुन अवस्थामा उठाएर ल्याएँ तलाई थाहा छ ?” भाष्करले आफ्नो असली रूप देखाउँदै बिषवमन गर्‍यो
“थाहा छ, सब थाहा छ। त्यसैले त पटक पटक बलात्कृत हुँदा पनि सहें”, ऊ भन्दै गई “तपाई जति तुच्छ सोच्नुहुन्छ म त्यस्तो छैन । झिंगा लागोस तपाईको सम्पत्तिमा । मैले यसरी कैयौं पटक आफ्नो शरीर तपाईलाई सुम्पनु परेपछि निर्धक्क वेश्यावृत्ति गर्न थाले ।”
“त्यसोभए यो सन्तान त कसको हो के ठेगान ?”
“यो तपाईकै हो, तर सम्पत्ति माथि दाबी गर्ने तुच्छ काम म गर्दिन । म आफ्नै वर्कतमा, आफ्नै अस्तित्वमा बाँच्न चाहन्छु । मेरो सन्तानलाई मेरै पहिचान दिन्छु । यदि कुनै दिन उसलाई बावुको परिचय आवश्यक परेछ नै भने तपाई सामू आउँला । अहिलेसम्म मलाई गर्नु भएको सहयोगको लागि धन्यवाद ।”
भाष्कर कही भन्न खोज्छ । तर उसको मुखबाट शव्द निस्कदैनन् । दीपा ब्यागहरू उठाउँछे र जान्छे । पराजित आँखाले भाष्कर दीपालाई हेरिरहन्छ गेटबाट नबाहिरिएसम्म ।


यो कथा तन्नेरीडटकम बाट साभार गरिएको हो ।

गजल

रुपक पन्त

रिसाउँछौ किन सानु एकफेर हाँसिदेउन
त्यो मनले यो मनसँग मीठो नाता गाँसीदेउन

के भूल गरेँ भन मैले किन बोल्नै छाड्यौ अचेल
रीसराग बैरभाव जे छ सबै मासिदेउन

कसरी म बाँचु र खै तिमीबाट टाढा रही
दिन्छु माया तिमीलाई अँजुलीमा थापीदेउन

राखेको छु तिमीलाई हृदयमा सजाएर
मेरो तस्वीर तिम्रो मनको मझेरीमा टाँसिदेउन

कति बस्छौ सधैँ भरी कोमल मनलाई तड्पाएर
शंका किन अबोधझैँ सुटुक्क मन साटिदेउन
यो गजल तन्नेरीडटकम बाट साभार गरिएको हो ।