Tuesday, January 1, 2008

अस्तित्व

विपिन शर्मा

सामानहरू ब्यागमा हाल्दै गर्दा अचानक दीपालाई वाकवाकी लाग्यो। ऊ छेवैको बाथरुममा गई र बान्ता गरी । आज बिहान मात्र उसलाई डाक्टरले भनेकी थिइन् “It’s the symptom of early pregnancy. Don’t worry, but…” अनि डाक्टर भन्दै गइन्- “यस्तो बेलामा धेरै विचार पुर्‍याउनु पर्ने हुन्छ। जोखिमको काम नगर्नुस्, गह्रौ भारी नउचाल्नुस् र बढी भन्दा बढी आराम गर्नुस् ।”
“तपाईको श्रीमानलाई पनि” डाक्टरले भनिन् “यस बारेमा सचेत गराउन जरुरी हुन्छ । साँच्चै, के काम गर्नुहुन्छ उहाँ ?” सायद यो प्रश्नको जवाफ दीपासँग थिएन । एकछिन अनकनाएर उसले भनी “उहाँ विदेशमा हुनुहुन्छ ।”
दीपाको लागि आजदेखि यो घर विरानो बन्दैछ । ऊ जाँदैछे आज । लाग्छ पश्चिमतिर अस्ताउन लागेको घामले भन्दैछ “दीपा चाँडो गर, नत्र म तिम्रो बाटोको सारा उज्यालो उठाएर लगिदिन्छु ।” दीपा एक नजर अस्ताउँदो घामलाई हेर्छे । उसको मनमा कुन्नि के हुन्छ- ऊ अलिकति उदास बन्छे । तर उसले आज यहाँबाट जानैछ, जसरी पनि ।
त्यहाँ भएका धेरै कुरा उसका भएर पनि ऊ लैजान चाहन्नथी। केही सामान जुन ऊ आफैंले किनेकी हो तिनमा द्विविधा थिएन तर अरु सामान ऊ सोची-सोची हाल्दैछे । यही क्रममा कैयौं प्रसङ्गहरू उसको मानसपटलमा आउँदै-जाँदै गर्दैछन् । उसलाई लाग्छ बितेको समय त धुलोको कणझैं यी सामानहरूमा पो टाँसिएको रहेछ । दीपा सम्झन्छे कसरी ऊ यहाँ आइपुगी -
आमा कहिले मरिन् उसलाई थाहाछैन । बाबु मर्दा ऊ सोह्र वर्षकी थिई । घरको आर्थिक अवस्था कमजोर थियो । ऊ भन्दा अघिका दिदीहरूको क्रमश: पन्द्र, सत्र र अठार वर्षको उमेरमा बिहे भएको थियो जसको भार बाबुलाई बोक्नु न बिसाउनु भएको थियो । कान्छा रसाईली सधैं भन्ने गर्थे “तिन्टी छोरीको त पार लगाएँ जे जसरी भएपनि, अब यो कान्छीको के गरी गरौं ? गैरीखेत नभा’ पाखोबारी निखन्न पाए नि त्यसैले बन्दोबस्त हुन्थ्यो ।” तर सोचेजस्तो कहाँ हुन्थ्यो र ? पीरै पीरको भारी बोकेको कान्छोले एकदिन खै कुन्नि कस्तो रक्सी पारेको थियो घरमा, दुई गिलास पिएर चर्पी गएको फर्केन ।
काज किर्याको त के कुरा गर्नु उल्टै साहुहरूले घर घेरे । नावालक छोरी मात्र के गरोस् र ? दीपाले भनी दिई “बुबाको लास उठाउन दिनुस् घरबारी जे जति छ तपाईहरूले बाँडिचुँडी लानुहोला।“
भन्न त भनी तर ऊ के गरोस् ? उसको कुनै उपाय थिएन । एक त गरिब त्यहाँ माथि कथित तल्लो जाति । तर अजिङ्गरको आहारा दैवले पुर्‍याउँछन् भनेझैं एकजना सामाजिक कार्यकर्ताको सहयोगमा लास उठ्यो । हो, भाष्‍कर तिवारीले गाउँका सवै युवाको सहयोग लिएर कान्छाको दाहसंस्कार गराए । छोराले गर्ने बाबुको संस्कार सबै (कपाल काट्ने बाहेक) दीपाले गरी। कुसंस्कारको भारी बोकेको समाज नराम्ररी जिल्लियो ।
यति त भयो तर बाबुले लिएको ऋणका तमसुकले घरखेत खाने नै भयो । कहाँ जाने, के गर्ने भन्ने अन्योल भइरहेको बेला दीपालाई भाष्करले आफूसँग लगेर पढाउने प्रस्ताव गर्‍यो । विकल्परहित दीपालाई यो भन्दा उत्तम के हुनसक्थ्यो र ? ऊ भाष्करसँग काठमाण्डौ आई । अनि उनीहरू तीनजनाको परिवार भयो- दीपा, भाष्कर र भाष्करकी पत्‍नी- दिब्या।
आर्थिक अभावले गर्दा दीपाले गाउँमा राम्रो पढ्न सकेकी थिइन । सोह्र वर्षको उमेरमा बल्ल सातमा पढ्दै गरेकी दीपालाई भाष्करले सामान्य अङ्ग्रेजी स्कुलमा भर्ना गरिदियो । बिहान बेलुका दिब्यालाई घरको काम सघाएर पनि दीपालाई प्रसस्तै पढ्ने समय निस्कन्थ्यो । अनि सोही समयको सदुपयोगबाट दीपाले आफ्नो बौद्धिकता बढाइरहेकी थिई । ऊ कक्षामा प्रथम हुन थाली । यसरी दिनानुदिन उसले पढाइमा प्रगति गर्दैगई । त्यसैगरि दिब्या गर्भवती हुँदा र सुत्केरी हुँदा जुन किसिमले सहयोग पुर्‍याई दिब्या लाई त्यो गुन बिर्सिनसक्नु थियो ।
पढाइ र शीलस्वभाव मात्र होइन रूपमा पनि दीपा बिछट्ट राम्री थिई । उसको सौन्दर्य देखेर त दिव्यालाई समेत कहिलेकाहीँ इर्श्या लाग्थ्यो । तर के गर्नु जसको भाग्यमा जति लेखेको छ...
“दीपु...! यहाँ आऊ त” भाष्कर प्राय दीपु नै भन्ने गर्छ ।
भाष्करका केही साथिहरू आएका रहेछन्, त्यसैले उसले चिया बनाउनु भन्नको लागि बोलाएको रहेछ।
लहलहाउँदो कपाल, छिनेको कम्मर, ताजा गुलाफको पत्रझैं ओठ... भो छोडिदिऊँ उसको रूपको वर्णन गरेर साध्यै छैन । दीपालाई देखेर भाष्करको साथी अनमोल हेरेको हेर्‍यै भयो । अनि खै कुन्नि के खासखुस गर्‍यो दीपाले बुझिन । उसलाई लाजले/डरले के ले हो के ले चिया लिएर जान मन थिएन । तर नगई उपाय पनि त थिएन, आजै दिब्या केही दिनका लागि माइत गएकी थिइन् ।
एसएलसी परिक्षा आउन लागेको थियो । करिव १० दिन मात्र बाँकी । रात छिप्पिदै थियो । दीपा अध्ययनमा ब्यस्त थिई । अचानक भाष्कर कोठामा पस्छ । दीपालाई एकटक हेरिरहन्छ । दीपा केही बोल्न सक्दिन । ऊ सकेसम्म बेवास्ता गर्न खोज्छे । बाबुसमान मानेको भाष्करको हेराई किन-किन आज उसलाई अस्वभाविक लागिरहेको थियो । तर भाष्करले हेरिनै रहन्छ । दीपालाई खपिनसक्नु अप्ठेरो लाग्छ । ऊ बाहिर निस्कन खोज्छे । ढोका निरै उभिए भाष्करले बाटो छेक्छ ।
“दीपु तिमी साँच्चै राम्री छ्यौ ।” उ भन्दै जान्छ “म पनि कति मुर्ख माली आफ्नै बगैंचामा फुलेको फूल चिन्न नसक्ने ।” यतिन्जेल उसको एउटा हात दिपाको केशराशिमा चल्न थालिसकेको थियो भने अर्को हात उसको वक्षस्थलमा । निरिह दीपा... एक पटक त भन्छे “नगर्नुस् न सर, छि के गरेको यस्तो ।” उसले फुत्कन कोशिश गर्छे “म तपाईलाई बुबाझैं इज्जत गर्छु ।” तर दीपाका यी शब्दहरू ब्यर्थ भए । अनि भाष्कर विजयपथमा अघि बढेको योद्धाझैं उन्मत्त भएर दीपाका अङ्ग प्रत्यङ्गसँग खूव खेल्छ । दीपा बेहोसझैं हुन्छे । भाष्कर पसिनाले लफ्रक्क भिजेर उत्तानो पर्छ । केही क्षण पछि दिपाले तन्दा भिजेको आभासले छाम्छे र हात हेर्छे रगताम्य...।
त्यसदिन पश्चात दीपा विक्षिप्त हुन्छे । तर ऊ केही गर्न सक्दिन । आफूलाई एउटा नाजुक अवस्थावाट उठाएर यहाँसम्म ल्याउने मान्छे जसलाई उसले मनैदेखि देवता समान मानेकी थिई उसको दानवरूपको बारेमा ऊ कसलाई सुनाओस् । अनि फेरि उसले यो अन्धो समाजलाई पनि त चिनेकी थिई... जो कमजोर छ उसैमाथि दोष थोपरिन पनि त सक्थ्यो ।
भाष्कर दिव्याको अनुपस्थितिमा दीपाको कोठामै रात बिताउने गर्नथाल्यो । असहाय दीपाले यो शोषणलाई स्वभाविक मान्न बाध्य भई । त्यसरी आएको रात भाष्कर दीपालाई दुई चक्की औषधि खान दिन्थ्यो । दीपा निर्विरोध खाईदिन्थी ।
पटक-पटक बलात्कृत भएपछि दीपाले पढ्न सकिन । ऊ एसएलसीमा पनि फेल भई र पढाइमा चासो पनि त्यति राखिन । तर पत्र-पत्रिकाहरू भने विशेष रुचि लिएर पढ्ने उसको स्वभाव कायमै रह्यो । साथै ऊ त्यहीं अफिस कोठामा भएका भाष्करका रिसर्च पेपर, केस स्टडिहरू विशेष रुचिका साथ पढ्थी । जसले गर्दा नजानिंदो गरी उसमा चेतनाको विकास भइरहेको थियो ।
एकदिन दीपाले भाष्करसँग जागिर खाने अनुमति मागी । उसले पहिला त “किन तिमीलाई जागिर खान पर्‍यो?” भनेर कडा स्वरमा सोध्यो । तर पछि दिब्यासँग सल्लाह गरेर भनौंला भन्यो ।
“उ स्कूल जाँदा त ठिकै थियो भने म के भन्थे र ?” दिब्याको यस्तो जवाफ आएपछि दीपालाई बाटो खुल्यो । यस्तै कुराहरू भएका थिए र आज तिनै कुराहरू श्रृङ्खलाविहिन रूपमा पुनरावृत भइरहेका थिए दीपाको स्मृतिमा।
एउटा खाम बन्द चिठीमा कुन्नि के लेखेकी थिई दीपाले, साइडटेवलको घर्रामा राखिदिई। तर ऊ निस्कन नपाउँदै कोही आएको संकेत कलबेलले गर्‍यो । दीपा ढोका खोल्न गई, भाष्कर आएको रहेछ । ऊ सरासर दीपाको कोठामा आयो (दिव्याको अनुपस्थितिमा ऊ त्यसै गर्थ्यो) ।
भाष्करले अचम्मित हुँदै सोध्यो- “यो के हो?” दीपा एकछिन केही बोल्न सकिन । अनि आफू भित्रको सारा हिम्मत एकढिक्को पारेर भनी “म आज जाँदैछु ।”
“कहाँ?”
“जहाँ भाग्यले डोहोर्‍याउँछ।”
“किन?”
“...म गर्भवति छु।“
“कसरी?” सधैं सुरक्षाको उपाय अपनाएको ऊ झस्कनु स्वभाविक थियो ।
“मैले तपाईले दिएको चक्की खान छाडेको थिएँ ।”
“किन?”
“म भित्रको नारित्व जागेर ।”
“यो हुनसक्दैन तिमीले एभोर्सन गर्नुपर्छ...गर्नैपर्छ ।”
“कदापि गर्दिन । म जन्म दिन्छु यसलाई ।”
“यो सव तेरो चाल हो । तैंले मेरो सम्पत्तिमा हक लगाउन यसो गरेकी होस् । कुन अवस्थामा उठाएर ल्याएँ तलाई थाहा छ ?” भाष्करले आफ्नो असली रूप देखाउँदै बिषवमन गर्‍यो
“थाहा छ, सब थाहा छ। त्यसैले त पटक पटक बलात्कृत हुँदा पनि सहें”, ऊ भन्दै गई “तपाई जति तुच्छ सोच्नुहुन्छ म त्यस्तो छैन । झिंगा लागोस तपाईको सम्पत्तिमा । मैले यसरी कैयौं पटक आफ्नो शरीर तपाईलाई सुम्पनु परेपछि निर्धक्क वेश्यावृत्ति गर्न थाले ।”
“त्यसोभए यो सन्तान त कसको हो के ठेगान ?”
“यो तपाईकै हो, तर सम्पत्ति माथि दाबी गर्ने तुच्छ काम म गर्दिन । म आफ्नै वर्कतमा, आफ्नै अस्तित्वमा बाँच्न चाहन्छु । मेरो सन्तानलाई मेरै पहिचान दिन्छु । यदि कुनै दिन उसलाई बावुको परिचय आवश्यक परेछ नै भने तपाई सामू आउँला । अहिलेसम्म मलाई गर्नु भएको सहयोगको लागि धन्यवाद ।”
भाष्कर कही भन्न खोज्छ । तर उसको मुखबाट शव्द निस्कदैनन् । दीपा ब्यागहरू उठाउँछे र जान्छे । पराजित आँखाले भाष्कर दीपालाई हेरिरहन्छ गेटबाट नबाहिरिएसम्म ।


यो कथा तन्नेरीडटकम बाट साभार गरिएको हो ।

No comments: